काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नैतकताको प्रश्न उठेका व्यक्तिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने स्पष्टीकरण दिएका छन् । जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सिफारिस गरेसँगै अहिले पार्टीको व्यापक आलोचना भइरहेको छ । यसैतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् । साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाएका थिए ।
‘इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ’ उनले भने । जवाफमा कांग्रेस महामन्त्री थापाले आलमको नाम नलिई नैतिकताको प्रश्न उठेकालाई सांसद नबनाइने बताए । थापाले भने, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैन ।’