राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पारित भएको छ । भदौ २ गते प्रतिनिधि सभाले पनि पुनर्विचार गर्न राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा प्रतिवेदनको रूपमा पठाएको थियो।

राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको हो । अब यो विधेयक कानून बन्ने निश्चित भएको छ । विधेयकले कानूनी हैसियत पाएसँगै जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउनेछन्। पहिलोपटक विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता लिन समेत बाटो खोलेको छ । यो विधेयक अब प्रमाणीकरणका लागि पुनः राष्ट्रपति समक्ष पुग्नेछ ।