काठमाडौं । माध्यमिक तह (कक्षा १२) को परीक्षाफल प्रकाशित हुँदा निरासाजनक नतिजा आएको छ यस वर्ष आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परे । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार नतिजा सार्वजनिक गरेको हो । जसमा एक लाख ८८ हजार ४१० जना नन ग्रेडेडमा परे । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले भविश्य लक्षित विषय रोजेर पढ्न पाउँछन् । त्यसमा पनि निरासाजनक नतिजा आउनुलाई शिक्षा बिदहरु भने सकारात्मक संकेत मान्दैनन् ।
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । तोकिएको अङक भन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ को परीक्षामा ३ लाख ६३ हजार ८ जना परीक्षार्थी सहभागी थिए । एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । उनीहरुमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिन सक्नेछन् ।
दुई विषयसम्म नन ग्रेडेड ल्याएकाले परीक्षा दिन पाउनेछन् भने दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएको अवस्थामा अर्को वर्ष सबै परीक्षा दिनुपर्छ । यसरी हेर्दा ५७ हजार ५३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ । कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । २०७८ सालमा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ जना विद्यार्थीले ३।६ जीपीए कटाएका थिए ।
यो वर्ष बोर्डले केन्द्र तोकेर परीक्षा सञ्चालन गर्दा ३.६१ देखि ४ जीपीए ल्याउने ४ हजार १७९ विद्यार्थी मात्र देखिए । ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार नतिजा प्रकाशन गरिएको र नियमिततर्फको परीक्षार्थीको लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक भएको छ । यो निर्देशिका अनुसार सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।
कार्यालयको अनुसार आंशिकतर्फ पनि जम्मा ४१.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागी ३ हजार १३२ जना मध्ये १ हजार २८८ जना मात्रै उत्तीर्ण भएको जनाएको छ । ४३ जनाको परीक्षाफल रद्द भएको छ ।