काठमाडौं । फिल्मी शैलीमा गोली हानी हत्या भएका काठमाडौंको गोठाटारस्थित जम्बुडाँडाका गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको पृष्ठभूमि विवादास्पद पाइएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उनी तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालक हुन् । उनको स्थानीय घर सर्लाही हो । अज्ञात समूहले उनलाई कारमा लखेटी लखेटी गोली हानीको सीसीटीभी फुटेजमा देखिएको छ । उनको टाउको, छाती र पेटमा गोली हानी लागेको छ ।
सोमबार साँझ गोली लागेर घाइते भएका उनलाई शंखरापुर अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा उपचार नभएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । त्यसको केही बेरमै चिकित्सकले मृत घोषणा गरे । बा ६ च ५१५२ नम्बरको मोटर चढेर आएका मोहम्मदलाई गोठाटारको जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्री अघि सोमबार गोली हानिएको थियो । गोली हान्ने व्यक्ति अझै फरार छन् । हत्या भएका ५७ वर्षिय अन्सारी करिब ९ वर्ष जेल बसेर ६ वर्षअघि रिहा भएका व्यक्ति भएको खुलेको छ ।
जाली नोट र कर्तव्य ज्यान मुद्दामा जोडिएका उनी २०६४ साउन ९ गते जेलमा ८ वर्ष ७ महिना बसेर छुटेका थिए । उनी लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजी लगायत उपनामले चिनिन्थे । उनीमाथि व्यक्ति हत्या र जालीनोटको कारोबारको अभियोग पुष्टी भएको थियो । उनी २०७३ जेठ २५ मा केन्द्रीय कारागारबाट छुटेका हुन् । सोमबार गोठाटारमा भएको गोली प्रहार र हत्या सम्बन्धी घटनामा पनि भारतीय गिरोहको संलग्नता रहेको आशंकाका बीच प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।