जनकपुरमा ओलीको रेल सवारी

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा नेपालको रेल चढेका छन् । उनले जनकपुर–जयनगर रेल चढेका हुन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् । उनलाई पर्खिनु परेपछि जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगर गुडेको छ ।

पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् । रेल चढ्न उनले टिकट नै किनेका थिए । काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।