बोष्टनमा बृहत सुशोभन समारोह हुने

सुपेन्द्र बस्नेत, बोष्टन

अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा बृहत सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ। आउदो नोभेम्बर १३ तारिख आइतवारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गर्ने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ।

नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहीत संस्था ‘समता ग्लोबल सिनेट’ले, नेपाल स्थित समता शिक्षा निकेतनलाई आवश्यक सक्दो सहयोग जुटाउने आफ्नो अभियानमा जोडिएका सहयोगीहरुलाई सम्मान गर्न यस समारोहको आयोजना गर्न लागेको हो।

”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त सुशोभन समारोहमा, समता शिक्षाका संस्थापक तथा प्रमुख अभियान्ता-उत्तम संजेलले समभाव लिइ अभियानमा जोडिएर सिनेटर बन्न सफल भएका व्यक्तित्वहरुलाई, सिनेटरको उपाधिसहित सम्मान गर्नु हुने जनाइएको छ।

समारोहका बारेमा जानकारी दिदै समता ग्लोबल सिनेटका अध्यक्ष प्राध्यापक डाक्टर उत्तम गाँउलेले भन्नु भयो, ‘यो हाम्रो संस्था ‘समता ग्लोबल सिनेट’को एउटा महत्वपूर्ण शैक्षिक अभियान हो। हाल यो संस्था नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाइ नेपाल राष्ट्रनिर्माणमा टेवा पुर्याउने मुख्य उद्देश्य राखेर, नेपाल स्थित ‘समता शिक्षा निकेतन’लाई यथासक्य सहयोग गर्ने अभियानमा जुटिरहेको छ। त्यही अभियान अन्तर्गतको हो यो अति महत्वपूर्ण सुशोभन समारोह। शिक्षा प्रेमि, समाजसेवी तथा नेपालप्रेमीहरुका लागि यस अभियानमा जोडिएर हातेमालो गर्दै नेपाल निर्माणमा योगदान पुर्याउने यो सुवर्ण अवसर हो। तसर्थ, इच्छुकहरुलाई समभावले सिनेटर बनेर अभियानमा जोडिन आव्हान गर्दछु।’
संस्थाको वेभसाइट हेर्नका लागि यहाँ क्लिक 👆गर्नुहोस् !

प्रा. गाँउलेले कार्यक्रमका बारेका थप प्रस्ट्याउदै भन्नु भयो, ‘खासमा सुशोभन समारोहमा संस्थाको शैक्षिक अभियानमा जोडिएर महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सिनेटरको उपाधिसहित सम्मान गरिने छ।’

गत वर्ष अमेरिकामा स्थापना गरिएको यस संस्थामा हाल २२ जना सिनेटरहरु रहेका छन्। यस वर्षको अन्तसम्ममा दुइसय जना सिनेटरहरु पुग्ने अनुमान गरिएको छ। संस्थाका अनुसार, समता सिनेटरको उपाधि पाउनका लागि १ हजार अमेरिकी डलर शुल्कसहित रितपूर्वक निवेदन दिनु पर्दछ।र, संस्थाको समभावप्रतिको निवेदकको प्रतिवद्धता प्रमाणित हुनु पर्दछ। समता सिनेटरको उपाधि दिने/ नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्नेछ।

समता ग्लोबल सिनेटको आयोजना तथा बोस्टन स्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटि र पशुपतिनाथ बुद्ध फाउण्डेशनको आतिथ्यतामा हुने उक्त समारोहमा, मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमलाई पनि समेटिएको आयोजकले जनाएको छ।यससंगै, उक्त सुशोभन समारोहको सांगीतिक माहोलमा समता शिक्षा निकेतनका संरक्षक तथा बरिष्ठ कलाकार द्वय ‘मह’ जोडी( मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकालसंग बोस्टनवासीले साक्षात्कार गर्न पाउने छन्।

यसैगरी, हालसम्म सुशोभन कार्यक्रमहरु नोभेम्बर-५ तारिखमा अमेरिकाको न्युयोर्क, नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासामा हुने गरी कार्यक्रम तालिका तय भएको आयोजकले जनाएको छ।

समता शिक्षा निकेतनको समता शैक्षिक अभियान, यस संस्थाका संस्थापक तथा सर्वसुलभ समता शिक्षाका अभियान्ता-उत्तम सञ्जेलको सक्रिय अगुवाइमा आजभन्दा २१ वर्ष अघि २०५८ सालमा काठमाण्डौं जोरपाटीको नयाँ बस्तीबाट प्रारम्भ भएको हो। संस्थाले विद्यार्थीहरुलाई प्रति विद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गरेर शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आइरहेको छ। हाल यस संस्थाले नेपालको ७७ जिल्लामा ८१ वटा विद्यालयहरु सञ्चालन गरिरहेको छ। विद्यालयले २०६६ देखि उच्च माध्यमिक तह र २०७२ देखि स्नातकोत्तर तहको पठनपाठनसमेत सञ्चान गरिरहेको छ।