काठाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनमा सिट बाँडफाँटमा चित्त नबुझाएको जनता समाजवादी एमालेसँग गठबन्धन गर्न पुगेको छ । उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सत्तारुढ गठबन्धनमा आएको छ । ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत गएको यो पक्ष २८ असारमा संसद पुनर्स्थापनापछि देउवा सरकारमा गयो । साउनमा जसपा विभाजन भयो ।
तर उपेन्द्र यादव पक्ष बाबजुद गठबन्धनमा रहिरह्यो । ३० वैशाखको स्थानीय चुनावपछि भने जसपा गटबन्धनप्रति असन्तुष्ट देखिएको थियो । विराटनगर महानगरपालिकाको उपमेयरमा छोरा अमरेन्द्र पराजित भएपछि अध्यक्ष यादवले धोका भएको बताएका थिए । त्यसयता एमालेसँग सम्पर्क बढाएको जसपा सत्ता गठबन्धनको सिट बाँडफाँटमा सक्रिय सहभागी थियो । जसपाले प्रतिनिधिसभामा १६ सिट पाउने निश्चित जस्तो भएको थियो । तर, सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएको उसले अरु दलसँग तालेमल गर्ने ढोका खोल्यो ।
जसपाले एमालेसँग समेत मधेस प्रदेशका १६ सहित २४ सिटमा दाबी गरेको छ । एमाले २२ सिट दिन तयार भएको छ । उता, लोसपा नेताहरु भने सत्तारुढ दलसँग नजिकबनेका छन् । उनीहरुले प्रतिनिधिसभाको १५ सिट र मधेश प्रदेशमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेका छन् । गठबन्धनले ८ सिट दिन सहमती जनाएका छन् । शुक्रबार कांग्रेसको ८४, माओवादी केन्द्रको ४७, एकीकृत समाजवादीको २० र राष्ट्रिय जनमोर्चाको २ सिट टुंगाइएको छ ।