काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुने भएकोछ । बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ । हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।
आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेलदेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी विरुद्धसम्म उजुरी परेका कारण आयोगको निर्णय रोचक हुनेछ । आयोगले आज प्रकाशन गर्ने नामावलीहरुमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सकिने छ ।
त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि २ हजार ५२६ र प्रदेश सभाका लागि ३ हजार ४७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।