झापामा दुई मोटरसाइकल ठोक्किए, २ जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा सोमबार साँझ मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे३प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकलाई उदृत गर्दे सञ्चारमाध्यमले जनाएका छन् ।

मत्यु हुनेमा मे३प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे५प १६०४ नम्बरका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन् । भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको बेलुका ५ः२५ बजे मृत्यु भएको हो । घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ ।