लीलाराज दाहाल / सर्लाही
जंगलमा बसोबास गर्ने सकल प्रजातिका वन्य जीवजन्तुहरुले सिंहको अध्यक्षतामा न्यायीक भेला आयोजना गरे ।
समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आ-आफ्ना गुनासो र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो ।
एउटी बाख्रीले भनी, हुनत म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ । उ त्यो उन्मत्त पुरुष जनावरले मलाई बलत्कार गर्यो । म अन्यायमा परें । क्षतिपूर्ति सहितको न्याय चाहियो ।
लगत्तै एउटा स्यालले भन्यो, मेरै जातीको धूर्त स्यालले मेरो छोराको अपहरण गर्यो । उसले फिरौती मागेको छ ।
यत्तिकैमा फेरि अर्को हरिण उभियो र आफ्नो कुरा भन्न थाल्यो, ऊ त्यो छट्टुले मेरो छोरालाई अर्को राज्यमा बैदेशिक रोजगारीमा पठाई दिन्छु भनेर परिपञ्च गर्यो । लोभ देखाएर ठगी गर्यो । साह्रै अन्यायमा परियो ।
यसै गरी अन्यले पनि हत्या, आतंक, चोरी तस्करी, वातावरण प्रदुषण लगायतका समस्याहरुको उठान गरे ।
सबैको कुरा सुनिसकेर सिंहले एकपटक टाउको हल्लायो ।
सबैको ध्यान सिंहतिर गएको थियो । सिंहबाट हुने निर्णयको पर्खाइमा थिए – सबै ।
अन्तमा सिंहले ती पीडकतिर हेरेर गम्भिरतापूर्वक भन्यो; “तिमीहरुले अपराध बमोजिमको सजाय त पाउँछौ नै ! त्यो भन्दा ठूलो कुरा मानिसको बानी व्यहोराको सिको गरेकोमा पहिला तिमीहरुलाई दण्ड दिने घोषणा गर्दछु” । जनावरहरु यतिखेर भने केही बोल्न सकेनन् ।