काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको भने तीन दिन भित्र सार्वजनिक गर्ने बताएको छ । समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार सबै मतपेटिका संकलन भए लगत्तैदेखि मतगणना थालिनेछ । तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना छ ।
मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको थपलियाले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ।