राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंमा सानदार इन्ट्री, तीन क्षेत्रमा जित

काठमाडौं । रवी लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा सानदार इन्ट्री गरेको छ । पहिलो प्रयासमै यो पार्टीले काठमाडौंका तीन क्षेत्रमा जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भए ।

काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी भइन् । यस क्षेत्रमा गठबन्धन चौथो स्थानमा रह्यो । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो भएकी हुन् । दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत पाए ।

काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मात्र मत पाइन् ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मात्र मत पाए ।