गौर । रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गौरमा गतराती यस्तो घटना भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । गौर नगरपालिका १ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
आगलागीमा परी पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् । प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो ।
सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो । आगलागीको समयमा सो घरमा १६ जना रहेका थिए । आगलागी भएको सूचना पाए लगतै गौर नगरपालिकाका मेयर शम्भु साह घटनास्थल पुगेका थिए । गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ ।