काठमाडौं । एकीकृत समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित भएका छन् । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान सम्पन्न मतगणनाहुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे ।
एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए । उता, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन् । ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ । एमालेका उमेदवार राजेन्द्रवीर रायले तेस्रो स्थानमा रहे । उनले १३ हजार २९ मत पाए ।