बैतडीमा एक युवती मृत फेला, एक घाइते

बैतडी । बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहारको समेत घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेको प्रहरीको भनाई छ ।

मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका रहेको बताइएको छ । उनीहरू मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन निस्केका थिए। सो दिन घर उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको प्रहरीले जनाएको छ । खोजीकार्यकै क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।