दोलखामा माओवादी र बाजुरा तथा स्याङ्जा २ मा कांग्रेसको अग्रता

मतगणना शुरु हुन बाँकी तीन वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ । जस अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । शुक्रबार बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् ।

हालसम्म ३६६७ मत गणना भइसकेको छ । प्रदेश सभा तर्फ प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । उनले १ हजार ६६३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १०५४ मत पाएका छन् । प्रदेश २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी अगाडि छन् । केसीले २ हजार १७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामाले १ हजार ८०१ मत पाएका छन् ।


उता, बाजुरा र स्याङ्जा क्षेत्र नं. २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम लिएका छन् । बिहानको मत परिणाम अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् ।

स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् । गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ । यी तीन क्षेत्रमा विवादका कारण मतगणना रोकिएको थियो । दोलखाका १० क्षेत्रमा बिहीबार पुनः मतदान भएपछि अहिले धमाधम गणना भइरहेको छ ।