दलहरुले समानुपातिक सांसदको सूचि सोमबारसम्म सच्याउन सक्ने

काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार सोमबारसम्म समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन सकिने आयोगले जनाएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ ।

दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने तयारी आयोगको छ । निर्वाचन आयोगका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परे–नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए–नभएको छानबिन हुनेछ ।