काभ्रे दुर्घटनाका मृतकमध्ये १३ जनाको पहिचान खुल्यो

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने १७ जनामध्ये १३ जनाको पहिचान खुलेको छ। प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङको मृत्यु भएको छ।

बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको छ । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो। बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो। बसमा ३९ यात्रु सवार थिए।