१० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड

काठमाडौं । नेपालको राजनीति पछिल्लो साढे दुई दशकयता आफ्नो इशारामा चलाउन सफल व्यक्तिमा पर्छन् पुष्प कमल दाहाल प्रचण्ड । २०५२ सालमा जनयुद्ध सुरु भएयता उनले जे जस्तो चाहेका छन्, राजनीतिले उस्तै मोड लिएको छ । नेपालमा राजतन्त्रकालिन व्यवस्था उन्मुलनदेखि गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड पुनः एक पटक शान्तीपूर्ण राजनीतिाबाट मुलुकको कार्यकारी पदमा पुग्न सफल भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै हुनेछ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए । यसमध्ये दोस्रो कार्यकाल सफल मानिन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म विसं २०११ साल मङ्सिर २६ गते ढिकुरपोखरी २ कास्कीमा भएको हो । मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गरेका छन् । २०२८ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहबाट राजनीति थालेका प्रचण्ड २०३१ सालमा मार्क्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशनमा प्रवेश गर्नुभयो ।

चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए । २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक सङ्घको महासचिव बनेका प्रचण्ड २०४० सालमा अनेयुसङ्घको अध्यक्ष बने । युवक सङ्घको अध्यक्ष बनेपछि उनी पार्टी नेतृत्वमा छलाङ मार्न थाले ।

उनी २०४१ सालमा नेकपा मसालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिट ब्युरो सदस्य बने । २०४२ मा पार्टी विभाजनपछि उनी मोहन वैद्य किरणतिर लागे । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर कान्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडेलगत्तै पार्टी प्रमुख अर्थात् २०४६ मा महामन्त्री बनेका प्रचण्ड अहिलेसम्म पार्टीको प्रमुख पदमा आसिन छन् । प्रचण्डकै नेतृत्वमा माओवादीले २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्ध लडेको थियो ।

२०७८ पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट पनि उनी अध्यक्ष निर्वाचित भए । यसअघि २०७४ सालको चुनावपछि एमाले र माओवादीको एकता भएर गठन भएको तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये उनी एक थिए । उनी २०६४ सालमा सम्पन्न संविधान सभा चुनावमा काठमाण्डौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । उनी २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बने ।

संविधान सभाको दोस्रो चुनाव २०७० सालमा काठमाण्डौ १० बाट पराजित भए पनि उनी सिरहा ५ बाट निर्वाचित बने । २०७३ सालमा उनी दोस्रो पटक प्रधानमन्त्री बने । २०७४ सालको चुनावमा उहाँ चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा उनी गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका हुन् ।