मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु

हेटौडा । पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटनामा परेको छ । सो क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकोछ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई शुक्रबार बिहान ३ः३५ बजे तथा मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याए लगत्तै (सवा १२ बजे) डाक्टरले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार गएराति करिब पौने ११ बजेतिर मनहरी गाउँपालिका–९ को ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनैजनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो । दुर्घटनाको कारण खुलेको छैन ।