काठमाडौं । कम्यूनिष्ट नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । शुक्रबार दिउँसो एक कार्यक्रम आयोजना गरी पार्टीले घनश्यामलाई पार्टी प्रवेश गराउन लागेको हो । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै बसे ।
गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरे । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए । एकीकृत समाजवादीमा फर्किएका भूसालले कुन जिम्मेवारी पाउँछन् भन्ने खुलिसकेको छैन । यद्यपि पार्टीभित्र उनलाई महासचिव वा उपाध्यक्ष पद दिने विषयमा छलफल चलिरहेको बताइएको छ ।