५ चैतमा स्ववियु निर्वाचन हुने निश्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रार कार्यालयले आंगिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा निर्वाचन गराउन पूर्वतयारीसमेत अघि बढाउन आग्रह गरेको छ । विद्यार्थी भर्ना, लगत संकलन, परीक्षालगायतका विषय पूर्वतयारीअन्तर्गत पर्छन्

योगेन्द्रप्रसाद दाहालले निर्वाचनसम्बन्धी पूर्वतयारी अघि बढाउन सर्कुलर गरेका हुन् । कार्यकारी परिषद्ले विद्यार्थी कल्याण तथा खेलकुद परिषद्को प्रस्तावमा निर्वाचनको मिति तय गरेको थियो । खेलकुद परिषद्ले मिति प्रस्ताव गर्नुअघि विद्यार्थी संगठनका केन्द्रीय प्रतिनिधिसँग परामर्श गरेको हो । त्रिवि क्लालेन्डरमा फागुन १४ मा निर्वाचन गर्ने उल्लेख भए पनि परीक्षा, विद्यार्थी भर्नालगायतका काम प्रभावित हुने भएकाले चैत पहिलो साता निर्वाचनको मिति तोकिएको हो ।

परिषद्को निर्णयपछि केन्द्रमा रेक्टरको अध्यक्षमा निर्वाचन समिति गठन गरेर तयारी अगाडि बढाउने व्यवस्था छ । रजिस्ट्रार पेशल दाहालले आंगिक क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन हुने र सम्बन्धन प्राप्त सामुदायिक/निजी क्याम्पसले आन्तरिक तयारीको आधारमा निर्वाचन गराउन सक्ने बताए । ‘कार्यकारी परिषद्ले मिति घोषणा गरेपछि निर्वाचन गराउने बाटो खुलेको छ,’ उनले भने, ‘केन्द्रीय निर्वाचन समिति र क्याम्पसले विद्यार्थीसँग समन्वय गरेर स्वच्छ, निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गराउनुपर्छ ।’

त्रिविमा ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । विगतमा आंगिक र सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको थियो । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा समेत स्ववियु निर्वाचन हुनेछ । क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी नियुक्त गरेर निर्वाचन गराउन सक्ने व्यवस्था छ । क्याम्पस प्रमुख स्ववियुको संरक्षकसमेत हुनेछन् । २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यतिबेला देशैभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा ९ वटा आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । उपत्यकाका १३ र उपत्यकाबाहिर २३ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।