कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा

काठमाडौं । गृह मन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच बिहीबार छलफल भएको छ । उनीहरुबीच कार्यकारी पदमा पुगेपछि पहिलो पटक छलफल भएको हो । बालेनले गृहमन्त्री रवि लामिछानेसँग भेट गरी सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

बिहीबार दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन् । मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएको बताइएाको छ ।

उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका छन् । छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका छन् ।