आफ्नै छोरा र श्रीमतीलाई पेट्रोल छर्केर बाबुले लगाए आगो, छोराको मृत्यु

बाँके । बाँकेमा बाबुले आफ्नै छोरा र श्रीमतीमाथि आगो लगाएका छन् । सो क्रममा छोराको जलेर ज्यान गएको छ । श्रीमती घाइते भएकी छिन् । बाँके, कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए ।

त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिएका छन् ।


कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् ।

साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए । ‘अब बाँच्नुपर्छ भनेर बाबु बोकेर म हिंडें,’ गंगाले भनिन्, ‘परैबाट पेट्रोल छ्यापेर आगो फाल्दियो ।’ बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।