काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिने भएको छ । तर, अहिलेसम्म यस बारे कुनै सहमति जुटिसकेको छैन । रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान छ ।
बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन माग गरेको थियो ।
आजसम्म गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने रास्वपाको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको मुद्दा टुङ्गो नलागेसम्म धैर्य गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको अडानमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछाने असन्तुष्ट छन् ।
पूर्वसहमतिअनुसार गृह मन्त्रालय रास्वपाकै भागमा परेको भन्दै ओलीले प्रचण्डलाई दबाब दिइरहेका छन् । सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर भएपछि लामिछानेको सांसद र मन्त्री पद गएको छ । सर्वोच्चको आदेशपछि नागरिकता लिएका लामिछानेले गृह मन्त्रालय पाउनुपर्ने दावि गरिरहेका छन् ।