बहराइनका राजाले डा. रुइतलाई प्रदान गरे १४ करोड पुरस्कार राशीको इशा अवार्ड

काठमाडौं । नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारले प्रतिष्ठित इशा अवार्ड प्रदान प्रदान गरेको छ । सरकारको तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले अवार्ड हस्तान्तरण गरेका हुन् । मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा रुइतलाई प्रदान गरे । राजा हमाद बिन इशा अल खालिफाले ुलोकहितकारी कामका अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी कामु गर्दै आएको बताए । इशा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।

आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो ।

‘यो घडी म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई उनीहरुको स्तुत्य सेवालाई धन्यवाद दिन चाहन्छु । यो काममा जुटेका मेरा अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई यो क्षणमा म सम्झन चाहन्छु । र, आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरुमा म यो सम्मान अर्पण गर्न चाहन्छु’,डा. रुइतले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।