प्रचण्डले एमालेको साथ छोड्ने परिस्थिति बनेको हो ?

काठमाडौं । राष्ट्रपति चुनाव नजिकिँदै जाँदा नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन टुट्ने सम्भावना बनेको नेताहरुले बताएका छन् । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँतिन सक्ने समेत बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बनेको थियो । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । तर दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बनेको नेताहरुको भनाई छ ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर भए पनि गठबन्धन जोगाउन पहल गरिरहेका छन् । एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता गर्नुपर्ने ओलीको प्रस्ताव समेत छ । एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिका लागि पहल गर्ने निर्णय गरेको छ । उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु पनि आफ्ना अध्यक्ष महन्थ ठाकुरको नाममा सहमति जुटाउन खटिएका छन् ।