काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेकै दिन सोमबार देउवाले ओलीलाई पत्र पठाएका हुन्।
राष्ट्रपतिमा पुस १० को सहमतिअनुसार नेकपा माओवादीले आफूहरूलाई सहयोग नगरेको भन्दै एमालेले सरकार छाडेको छ । सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोटस्थित निवास पुगेर ओलीलाई बुझाएका छन् ।
गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेबाट नेता सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए। राष्ट्रपतिमा मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे मंगलबार फिर्ता लिने समय छ। उम्मेदवारी फिर्ता लिने पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका हुन्।