काठमाडौं । कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई मेयर गोपाल हमालले खादा लगाइदिएका छन् । पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्याय मेयरको यस्तो अनौठो सम्मानमा परेका हुन् ।
उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि मिडियनको दुवैतिरबाट तारजाली लगाएको छ। तरपनि, यात्रुले जथाभावी बाटो काट्ने क्रम नरोकिएपछि चेतनाका लागि यस्तो गर्नु परेको बताइएको छ । पैदलमार्ग बनाइएको ठाउँबाट ट्रयाक्टर समेतका सवारी साधन एकतिरबाट अर्कोतिर लगिने गरिएको छ। यसैगरी, ठाउँमा–ठाउँमा पैदलमार्ग बनाइए पनि मान्छेले तारजाली नाघ्ने गरेका छन्।
पाध्यायले पैदलमार्ग छोडेर तारजाली नाघेर बाटो काट्दै गरेको फेला पारेपछि नैतिक रुपमा दण्डित गर्नका लागि पक्रेर खादाले सम्मान गरिएको नगर प्रमुख हमालको सचिवालयले जनाएको छ ।