काठमाडौं । करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।
लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि देशको कार्यकारी पदमा पुग्न अधिक प्रयास गरेका थिए । तर, उनलाई भाग्यले सर्वोच्च पदमा पुर्याएको छ । पाँच दशक लामो राजनीतिक जीवनको यात्रामा उनी सभामुख र पटक पटक मन्त्री भने भएका छन् ।
पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका पौडेलले २०१८ सालयता पटक पटक गरी करिब १४ वर्ष जेल जीवन बिताएका छन्। तत्कालीन समयमा शिक्षित परिवारमा हुर्किएका पौडेल पढ्नका लागि सुरुमा पोखरा र पछि काठमाडौं आएका थिए।
पोखरामा अध्ययन गर्दा सुरुमा पौडेलको झुकाव कम्युनिस्ट राजनीतिमा भएको बताइन्छ । संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेलले कैयौँ पुस्तक समेत लेखेका छन्। राजनीतिक जीवनको उत्तरार्द्धमा गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न पौडेललाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले साथ दिएका छन् । विसं २०५९ सालमा देउवाको नेतृत्वमा नेपाली कांग्रेस विभाजन भयो। पार्टी विभाजन गर्ने अन्तिम तयारीसम्म पौडेल देउवाको साथमै थिए।
तर देउवाले पार्टी घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्रै पौडेलले देउवालाई साथ नदिने निर्णय लिएका थिए । नेपाली कांग्रेस पुन एकीकरण भएपछि भने पौडेल कोइराला समूहसँग निकट भए र देउवासँग उनको राजनीति प्रतिस्पर्धात्मक बनेको थियो । पौडेल २०४८ सालमा पहिलो पटक मन्त्री बनेका थिए । पौडेलले पार्टीको १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि शेर बहादुर देउवासँगै प्रतिस्पर्धा गरे।
पौडेल देउवाबीचको रोचक प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । दोस्रो चरणमा भएको मतदानमा देउवा निर्वाचित भए। लगत्तै कांग्रेस संसदीय दलको निर्वाचनमा पनि पौडेलले देउवासँग प्रतिस्पर्धा गरे तर पराजित भए। देउवा र पौडेल नेतृत्वको गुट कांग्रेसको १४औँ महाधिवेशनसम्मै कायम रह्यो।
तर गत वर्ष भएको पार्टीको १४औँ महाधिवेशनमा पौडेल तटस्थ रहँदा देउवा निर्वाचित भए। पौडेलले आफ्नै पुरानो गुटका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह दुवैलाई समर्थन नगर्दा गुटभित्र उनको आलोचना समेत भयो । प्रतिनिधिसभाको सभामुख र पटक पटक मन्त्री समेत भइसकेका रामचन्द्र पौडेल शान्ति समितिको संयोजक समेत भएका थिए
विसं २०४८ सालमा पहिलो पटक सांसद बनेका पौडेल त्यसपछिका लगातार चार वटा निर्वाचनमा तनहुँबाट निर्वाचित भए। तर २०७४ को संसदीय निर्वाचनमा पौडेल पराजित भएका थिए । पौडेल २०४८ सालमा तनहुँ १ बाट निर्वाचित भएका थिए। पहिलो संसदीय निर्वाचनमा सफल भएपछि पौडेल स्थानीय विकासमन्त्री भए।