सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको हो । शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति बनेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् ।

आइतबार सं‌सदमा प्रस्तुत गर्ने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति बनेको उनको भनाई छ । संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुँदैछ ।

सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले समर्थन गर्न लागेको हो।

यसअघि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र लगायतले पनि विश्वासको मत दिएको थियो। यी दलहरू पनि सरकारमा सहभागी थिए। तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेपछि नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु पर्छ ।