काठमाडौं । मन्त्रालय बाडफाँट सकाएर सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारी गठबन्धनमा रहेका दलहरूसँग प्रस्तुत गर्ने भएका छन् । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने जानकारी दिएका थिए ।
गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट एकजनालाई मन्त्री बनाउने प्रस्ताव तयार पारेको बताइएको छ । प्रचण्डले ६ फागुनमा कांग्रेससहित १० दलको समर्थनमा विश्वासको मत लिनुभएको थियो । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ ।