नेपाली कांग्रेसले मन्त्री र उपनिर्वाचनका उम्मेदवार आज छान्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ । कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्। कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय लिँदै आएको छ।

सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले मन्त्रीको नाम टुंगो गर्ने तयारी छ । यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो।

यही मापदण्डका आधारमा सरकारमा पठाउने मन्त्रीबारे मंगलबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ। कांग्रेसले सत्ता गठबन्धनका बैठकमा ८ मन्त्रालय दाबी गरेको छ। कांग्रेसले अर्थ, गृह, परराष्ट्र, रक्षालगायत मन्त्रालय आफूहरूले पाउनुपर्ने बताइरहेको छ।

तर माओवादीले गृह आफैँसँग राख्न चाहेको छ। कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुनेछ। चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले त्यसअघि नै उम्मेदवार तय गरेर जानु पर्ने बाध्यता दलहरुसँग छ ।