काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलााउने समझदारी बनेको थियो। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्रस्ताव गर्ने तयारीसमेत गरेका छन्। दलहरू सँग सहमति जुटाएर छिट्टै मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन्।
सत्ता गठबन्धनमा १० दल छन्। आज यी दलका शीर्ष नेताहरू उपस्थित हुने बैठकमा मन्त्रिपरिषद बिस्तारबारे छलफल हुनेछ। कुन पार्टीले कति संख्यामा मन्त्रालय पाउने र कुन(कुन मन्त्रालय पाउने भन्नेमा गठबन्धनभित्र समझदारी बनिसकेको छैन। मन्त्रालय भागबन्डा टुंग्याएर मन्त्रिपरिषद बिस्तार गर्नेबारे आज गठबन्धन बैठकमा छलफल हुनेछ। प्रधानमन्त्री दाहालले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएदेखि नै मन्त्रिपरिषद बिस्तार गर्न दलहरूसँग संयुक्त र एक्लाएक्लै भेटवार्ता पनि गरिरहेका छन् तैपनि सहमति भएको छैन।
नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि १६ मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्दै आएका छन्। यी मन्त्रालयमा १० दललाई सहभागी गराउने तयारीमा प्रधानमन्त्री छन्। माओवादीले गृह मन्त्रालय आफैंसँग राखेर कांग्रेसलाई अर्थसहित मन्त्रालय दिन खोजेको छ। सत्ता गठबन्धन बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल हुनेछ। पहिले नै तयार गरिएको न्यूनतम साझा कार्यक्रमलाई परिमार्जन गर्न लागिएको हो। सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेपछि त्यही आधारमा सरकारमा जाने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउँदै आएका छन्।