धरानमा जनप्रतिनिधिबीचको विवाद साम्य

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरुबीचको विवाद साम्य भएको छ । मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद मिलेको हो । मेयरले कार्यपालिका सदस्य र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत जथाभावी नलेख्ने प्रतिबद्धता जाहेर गरेका छन् । वडाध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा मागप्रति पनि माफी मागेको बताइएको छ ।


मेयर साम्पाङका स्वकीय सचिवले २९ फागुनमा उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुसँग कामको प्रगति विवरण पठाउन निर्देशन पत्र पठाएपछि विवाद सुरू भएको थियो । १ चैतको कार्यपालिका बैठकमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त निर्देशन पत्र फिर्ता हुनुपर्ने माग राखेर विरोध जनाएका थिए । उक्त बैठकमा १० नम्बर वडाका अध्यक्ष विवेक राईले फरक मत राखेका थिए । जसका कारण कार्यपालिका बैठक नै स्थगित गर्नु परेको थियो । सो बैठकमा फरक मत राखेका वडाध्यक्ष राईलाई ३ चेतमा मेयर साम्पाङले स्पष्टीकरण सोधेका थिए ।

दुवै गलत कदम सच्याउनका लागि ५ चैतमा २८ जना कार्यपालिका सदस्यहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएका थिए । तर मेयर साम्पाङले उल्टै वडाध्यक्षहरुको राजीनामा मागे पछि विवाद थप चर्किएको थियो । विवाद चर्किएपछि आन्दोलनरत वडाध्यक्षहरुले ७ चैतदेखि विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर काम थालेका थिए ।

धरानको विवाद समाधान भएसँगे रोकिएका ५ वटा एजेण्डा आइतबारको कार्यपालिका बैठकबाट सर्वसम्मत पास भएको उपप्रमुख बेघाको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार नगर शिक्षा समिति चयन, नदीजन्य पदार्थ उत्खननको मापदण्ड, केही ऐनहरु संशोधन सर्वसम्मत पारित भएको छ ।