गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

मृतकको पहिचान खुल्न बाँकी छ ।’ बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘त्यो गाडीमा १८–१९ जना थिए भन्ने खुलेको छ ।’

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् । कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।