सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, ५ विदेशी यात्रुसहित ६ जनाको मृत्यु

rss

काठमाडौं । मंगलबार मनाङ एयरको ९एन–एएमभी हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको छ । यो नेपालको इतिहासको ४२ औं हेलिकप्टर दुर्घटना हो । सोलुखुम्बु, लुक्लानजिकै रहेको सुर्केबाट बिहान १० बजेर ५ बजे काठमाडौंका लागि उडेको यो हेलिकप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो ।

त्यसपछि काठमाडौं टावरले यो हेलिकप्टरलाई सम्पर्क गर्नुपर्ने थियो, तर गरेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार टावरसँग सम्पर्क टुटुेपछि काठमाडौं विमानस्थलस्थित खोज तथा उद्दार केन्द्रले अल्टिच्यूड एयरको दुई हेलिकप्टर सम्भावित घटनास्थलततर्फ खटाएको थियो ।

स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो । सर्वप्रथम घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार घटनास्थल आसपास बाक्लो हुस्सु लागेको थियो । टोलीले सोलुखुम्बुको लामजुरा पासनजिकै हेलिकप्टरलाई दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो ।

मंगलबार दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबै विदेशी पर्यटक हुन् । उनीहरु मेक्सिकोका नागरिक रहेको महाप्रबन्धक तिवारीले जानकारी दिए । उनीहरु सोमबार लुक्ला पुगेका थिए । सोमबार प्रतिकुल मौसमका कारण उडान सम्भव भएन । त्यसपछि रात उतै बिताएपछि यो टोलीले मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेको थियो । हेलिकप्टर ५५ वर्षीय अनुभवी पाइलट सीबी गुरुङले उडाएका थिए । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार उनीसँग ७ हजार घण्टा उडानको अनुभव थियो ।