काठमाडौं । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
साउन पहिलो साता पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, कार्यनीति, कार्यदिशाबारे जानकारी गराउन प्रदेशमा कार्यक्रम गर्ने तयारी मोर्चाको छ ।
समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि बनाएको थियो। मोर्चाको कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप तयार पार्न गठन गरिएको कार्यदलले तयार पारेको दस्तावेजमाथि पनि आज छलफल हुने बताइएको छ ।
कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरूङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य छन्। मोर्चाको अघिल्लो बैठकले उनीहरूलाई कार्यादेश दिएको थियो।
मोर्चाको अघिल्लो बैठकले आलोपालो अध्यक्षता गर्ने र नेतृत्व ६–६ महिनामा चक्रीय हिसाबले परिवर्तन हुने निर्णय गरेको थियो। मोर्चाको अहिलेको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्। मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन्। विप्लवबाहेक तीनैवटा सत्ता घटक पनि हुन्।