चन्द्रागिरिमा भेला भए देशैभरका सभामुख र उपसभामुख

काठमाडौं । संघीय संसद्सहित सातै प्रदेशसभाका सभामुख–उपसभामुखहरूको बैठक चन्द्रागिरिमा सुरु भएको छ । बैठकमा संसद् संचालनको अनुभव आदानप्रदान हुने जनाइएको छ । उद्घाटन सत्रमा धारणा राख्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बैठकले सभा संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, संघीयता ठीक छैन भन्ने आएको छ । यसलाई कसरी लिनेबारे छलफल हुनेछ । समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउने छ ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफूहरुको भूमिका निष्पक्ष पार्दै संसद्‌लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । संसद्लाई प्रभावकारी कसरी बनाउने, हाम्रो भूमिका निष्पक्ष बनाउनु पर्छ । विधिसम्म्म्त हुनुपर्छ । अनि मात्रै संसद्को विश्वास हुन्छ, उनले भने, सरकारलाई पनि संसद्‌प्रति जिम्मेवार बनाउनुपर्छ । संसद्‌ सरकारको उपस्थितिले मात्रै प्रभावकारी हुन्छ ।

वाग्मती प्रदेश सभामुख भुवन पाठकले संघ र प्रदेशबीच शक्ति सन्तुलन नमिलेको बताए । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले प्रदेशहरुबीच एकरुपता नभएको उल्लेख गरिन् ।

बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर तथा कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपाने, गण्डकीकी उपभामुख विनाकुमारी थापा, वाग्मतीकी उपभासमुख अप्सरा चापागाईं, मधेशकी उपसभामुख बविताकुमारी रावत, लुम्बिनीकी मेनुका खाँड केसी र सुदूरपश्चिमकी कोइलीदेवी चौधरी छन् ।

त्यस्तै संघीय संसद् सचिवालयलका महासचिव भरतराज गौतम, प्रतिनिधिसभा र राष्ट्रियसभा सचिव, प्रदेशसभाका सचिवलगायतको पनि बैठकमा उपस्थिति रहेको छ ।