तीन दिनदेखि नेपाली सेनाका मेजर सम्पर्कविहिन

काठमाडौं । दुई दिनदेख वेपत्ता नेपाली सेनाका मेजर विमल पण्डित अझै वेपत्ता छन् । उनी नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति हुन् । आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डित अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिएका छन् ।

उनी हराएको जानकारी पाउँनसाथ खोजिकार्य गरिरहेको समेत पोखरेलले जनाएका छन् । उनी आइतबार अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको बताइएको छ ।


पण्डित काठमाडौंको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङ वाकमा सेनाको टोली निस्किएको थियो । त्यसपछि उनले पीएसओलाई फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको बुझिएको छ ।