पर्वतमा वेपत्ता जिप मोदी किनारमा भेटियो, एक जनाको शव फेला

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका(७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा भेटिएको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव समेत भेटिएको प्रहरीले जनाएको छ । दुई जना अझै बेपत्ता छन् । शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो ।

बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिएका छन् । उनी तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको भुसाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।,

उनी र अर्का एक जना साथी बागलुङबाट पोखराका लागि गाडी चढेको प्रहरीलाई खबर प्राप्त भएको छ । तर, उनीसँगै सवारको शव नभेटिएकाले बेपत्ता हुने एक उनकै साथी हुन भनेर यकिन गर्न नसकिएको डिएसपी भुसालले बताए । बिहानैदेखि बेपत्ता २ जनाको खोजी कार्य भइरहेको छ । गाडी चालकले भने आफू भागेर बाँच्न सफल भएको बताएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

गाडी रोक्न पछाडि पांग्रामा ढुंगाको आड लगाउँदा लगाउँदै बाढी आएपछि आफू भागेको तर ३ जनासहित जीपलाई भने बगाएकोे चालकले बयान दिएका छन् । गाडीलाई रोकेर यात्रु झार्ने तयारी गर्दा गर्दै माथिबाट एक्कासी रुख, ढुंगामुडा र माटोसहित आएको बाढीले जीप बगाएर बेपत्ता पारेको थियो ।

बिहान जीप ३०० मिटर तल टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको र तालिम प्राप्त गोताखोर मगाएर बेपत्ताको खोजी भइरहेको डिएसपी भुसालले जानकारी दिए । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमाना तमादीखोला खहरे बनेर दुर्लुङको डाँडा हुँदै कतिबेला बाढी झर्छ भन्ने पत्तै नहुने र अघिल्ला वर्षहरुमा पनि घटना घटेको डिएसपी भुसालको भनाइ छ ।