यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखकलाई

काठमाडौं । यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । बिहीबार रोयल स्विडिस एकेडेमीले एक समारोहबीच यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फोसलाई दिने घोषणा गरेको हो । एकेडेमीले लेखक फसलाई नभनिएका वा भन्न नसकिने कुरालाई प्रयोगात्मक नाटक तथा गद्यबाट आवाज दिएका कारण नोबेल साहित्य पुरस्कार दिइएको जनाएको छ ।

एकेडेमीका अनुसार फसको शैलीलाई फस मिनिमलिज्म भनेर समेत चिनिने गरेको छ । वेकफुलनेस, मेलांकोलिया, मेलांकोली, सेप्टोलोजीलगायतका फसका चर्चित पुस्तक हुन् । एकेडेमीले फसको लेखनशैलीको प्रशंसा गर्दै भनेको छ, योन फस दैनन्दिनका यस्तो अवस्था प्रस्तुत गर्छन् कि जुन तत्काल नै हाम्रो जीवनबाट पहिचान हुन्छ ।

नोबेल साहित्य पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर(९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो । गत वर्ष फ्रान्सेली लेखक यानी अर्नोलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले लेखकीय साहसका लागि अर्नोलाई साहित्य पुरस्कार दिएको बताएको थियो ।


साहित्यमा पहिलो नोबेल पुरस्कार भने सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । पछिल्लो समय नानोटेक्नोलोजी टुलबक्स का लागि महत्त्वपूर्ण भूमिका खेल्ने क्वान्टम डट खोजी गर्ने तीन जना वैज्ञानिक मौंगी जी बावेन्डी, लुई ई ब्रस र अलेक्सेई आई इकिमोभलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ ।

त्यस्तै यस वर्ष सुक्ष्म समय पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । त्यस्तै कोरोना भाइरसविरुद्धको एमआरएन खोप विकासका लागि तीन वैज्ञानिकले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ६ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर ९ मा घोषणा हुनेछ ।