लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, आज सपथ हुँदै

file

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्युठानका सरोज थापालाई मन्त्री नियुक्त गरेका हु्न् । शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो ।

नवनियुक्त दुई मन्त्रीको आजै शपथको तयारी भएको बताइएको छ । केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास र थापाले पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ ।

लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गएको वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् । दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । बाँकी एक मन्त्रालय वन तथा वातावरण मुख्यमन्त्री आफैँले राखेका छन् ।