काठमाडौं । काठमाडौं महानगरपालिकामा घरपालुवा जनावरलाई सार्वजनिक स्थलमा शौच गराएमा जरिवाना तिर्नु पर्ने भएको छ । महानगरक्षेत्रभित्र कुनै पनि घरपालुवा जनावर धनी कुकुर बिरालोलाई शौच गराउन घर बाहिरका कुनै पनि सार्वजनिक स्थानमा निकाले कारबाही गरिने कृषि तथा पशुपन्छी विभागले जनाएको छ । सार्वजनिक स्थानमा शौच गराएको फेला परे महानगरले पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ।
‘जथाभावी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा-पिसाब गराएर फोहोरमैला गर्न नपाइने भन्दै महानगरले जरिवाना तिराउने भएको हो । महानगर प्रहरी बलले यसको नियमन गर्ने भएको छ । केहि समयअगाडि महानगरले क्षेत्रभित्रका कुकुर र बिरालाहरूको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको थियो।
जसमा घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरूको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जनावरधनीले गर्नुपर्ने उल्लेख छ। महानगर क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा छोड्न रोक लगाइएको छ ।