काठमाडौं । चोरी गरेर अमेरिका पुर्याइएका दुईटा मुकुन्डो र दुईटा मूर्तिहरु नेपाल फिर्ता ल्याइएको छ । यी मूर्ति बुधबार पुरातत्व विभागलाई जिम्मा लगाइएको छ ।तामा धातुबाट १६ औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६ औं शताब्दीमा प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं र १८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरिएको हो । भैरवका दुई मुकुन्डो दोलखाको भिमेश्वर नगरपालिका २ स्थित गुरकोट टोलबाट २०५० साल फागुन २२ गते चोरी भएर विभिन्न माध्यम हुदै अमेरिकाको डलास म्यूजियम अफ आर्ट र रुविन म्युजियम अफ आर्टमा पुगेका थिए ।
उमामहेश्वरको मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि सन् १९९० को दशकको बीचमा चोरी भएर ब्रुकलिन म्युजियममा पुगेको थियो । दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ्ग रहेको स्थानबाट चोरी भएर अमेरिका पुगेको थियो । यी कलात्मक वस्तुहरुको उत्पत्ति स्थल नेपाल भएको भनी यस विभागवाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएको पुरातत्व विभागद्वारा जारी विज्ञप्तिमा छ ।
यस अघि बेलायत, अस्ट्रिया, अमेरिका, चीन\तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १४५ थान मूर्तिहरु तथा कलावस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन्। अमेरिका, फ्रान्स, बेलायत, अष्ट्रेलिया जस्ता देशहरुबाट थप अरु केही कलात्मक वस्तुहरु फिर्ताको लागि कूटनीतिक पहल भइरहेको विभागले जनाएको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या ७२ पुगेको छ ।
यी कलात्मक वस्तुहरू फिर्ता गराउन अमेरिकाको न्यूयोर्कस्थित नेपाली बाणिज्यदूतावास, अमेरिकाको म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी अफिस न्यूयोर्क, यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन न्यूयोर्क, अमेरिका डलास म्युजियम अफ आर्ट, रुबिन म्युजियम अफ आर्ट, ब्रुकलिन म्युजियम, संस्कृति, तथा पर्यटन नागरिक उड्ययन मन्त्रालय र अर्थ मन्त्रालयले भूमिका खेलेको भन्दै विभागले धन्यवाद दिएको छ । यी कलात्मक वस्तुहरु अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवा गुठीले आर्थिक सहयोग गरेको थियो । गुठी प्रति पनि विभागले धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरेको छ ।