पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिएका छन् । अत्यधिक लोडका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटनामा परेको बताइएको छ । अहिले मृतकको पहिचान गर्ने काम भइरहेको छ ।