श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश


काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ ।

भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी र नातिनीको बुधबार बिहान हत्या भएको थियो । परिवारका तीन जनाको हत्या गरेका काजीले घर नजिकै झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ । ईश्वरी र काजी श्रीमान श्रीमती हुन् । उनीहरुसँगै परिवारमा ६ जना थिए । ईश्वरीको पहिलो श्रीमानतर्फका छोरा विदेशमा छन् भने उनका श्रीमती र छोरीसँगै थिए । ईश्वरी र काजीबाट छोरा (१५ वर्ष) र छोरी (८ वर्ष) थिए ।

बुधबार बिहान बुहारी काममा गइसकेकी थिइन् । कक्षा ७ मा पढ्ने छोरालाई बिहान ७ः४० बजेतिर गोलामारी किन्न पठाए । पसलबाट फर्किएर गेटमा पुग्ने वित्तिकै उनलाई बुबाले ‘ममी मरिसकेँ, सबै मारिँसके’ भनेका थिए । किन यस्तो गरेको भन्दै कराउन थालेपछि धकेलेर आफूलाई भिडियो खिच्न लगाएको बताइएको छ ।

उनको मोबाइलमा छोटो छोटो भिडियो क्लिप भेटिएको छ, जसमा काजीले श्रीमतीमाथि आरोप लगाएका छन् । आफ्नो सम्पत्तिबारे पनि बोलेको भेटिएको छ । उनले विभिन्न बैंकमा बचत रहेको आफ्नो पैसाबारे पनि भिडियो सन्देशमा भनेका छन् । ‘विदेशमा रहेका छोरा (श्रीमतीको पहिलो पतितर्फ) लाई सम्बोधन गर्दैै उनले भिडियोमा भाइलाई हेँला गरेको थाहा पाए राम्रो नहुने’ समेत बताएका छन् ।