अमित शाह, न्युयोर्क ।
मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका (Mithila Festival USA with Art & Culture Celebration) २०२४ आगामी अप्रिल महिनाको १४ देखि २० तारिखसम्म अमेरीकाको न्यूयोर्क सहरमा आयोजना गरिने भएको छ ।

आयोजकको घोषणा;
मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गरनुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (United Nations Sustainable Goals-SDGs) को प्रदर्शन गर्ने हाम्रो यो निरन्तर प्रयास हो। यसवर्षको मिथिला महोत्सव अमेरिकाको मुल नारा “दिगो विकास लक्ष्यको लागि कला: मिथिला सम्पदा (Art for SDGs: the Mithila Heritage)” भएकोले दिगो विकास लक्ष्यको लक्ष्य १३ (जलवायु सम्बन्धि कारबाही) लाई केन्द्रित गरि जलवायु परिवर्तन तथा यसका प्रभावहरू, प्रभाव न्यूनिकरण तथा पूर्व चेतावनि दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने सम्बन्धमा सामुदायिक जागरूकता बढाउने तर्फ अग्रसर हुनेछौं ।तसर्थ, यो कार्यक्रममा सहभागी हुन चाहने सबै ईच्छुक कलाकारहरुलाई यस वर्षको मुख्य नारालाई ध्यानमा राखि तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय हाम्रो ईमेल [email protected] मा १६ मार्च २०२४ सम्ममा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।

प्रथम मिथिला महोत्सव अमेरीका (Mithila Festival USA) सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा Arts for SDGs: the Mithila Heritage शिर्षकमा प्रारम्भिक चित्रकला प्रदर्शनी उच्च सफलताकासाथ सम्पन्न भएकोले हामी उत्साहित भएका छौं र हाम्रो प्रयासलाई निरन्तरता प्रदान गर्न हामी अझ क्रियाशील भएका छौं । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजनाले यु. एस. ए. तथा अन्य राष्ट्रहरूस्थित हाम्रो समुदायले सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहासिल गर्ने सन्दर्भमा मिथिला सम्पदाबाट हुनसक्ने योगदान बारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ । साथै, मिथिला राजा सलहेश जयन्ति समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धि कार्यक्रमहरू पनि यस वर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।
दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ, किनकी रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो ।देवी सीता र भगवान रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता(जानकीको नामले पनि चिनिने) को विवाह भारतको अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो । मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो, किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् ।यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्य मान्यताको प्रवर्द्धन गरेकोछ। यु.एस.ए.मा सबैभन्दा बढी मिथिला समुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास गरेका न्यूयोर्क र न्यूजर्सी सहरहरू हुन् ।

मिथिला कला संसारभर प्रख्यात छ । महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धि ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिंगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु (Canvas) माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुका लागि आय आर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।
विगतमाझैं, मिथिला महोत्सव अमेरिका (Mithila Festival USA) २०२४ को पनि सफलतापूर्वक आयोजना गर्न यहाँहरूको सहभागिता, सहयोग , समर्थन तथा सुझाव हामीलाई प्राप्त हुने नै छ भन्ने विश्वास लिएकाछौं।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको शुभकामना हित आयोजकले सम्पूर्णलाई कार्यक्रममा निमन्त्रणा गरेको छ ।