काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षिय संगीतकार आचार्यको सोमबार अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । कालजयी गीतका गायक तथा संगीतकार भक्तराज आचार्य ३० वर्षदेखि क्यान्सरसँग जुधिरहेका थिए । यस अवधिमा उनले ठोस खानेकुरा समेत खान पाएका थिएनन् । उनले दूध जस्ता झोलिलो कुरा खाएरै बिताउनु परेको थियो । आचार्यको निधनसँगै नेपाली संगीत क्षेत्रले अग्रज पुस्ताका एक दरिलो धरोहरलाई गुमाएको छ । उनी स्वरसम्राट नारायणगोपाल, प्रेमध्वज प्रधानका समकालीन हुन् ।
मुटु जलिरहेछ यो मन गलिरहेछ, तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ जस्ता अमर गीतले नेपाली संगितको श्रीवृद्धिमा उनको अतुलनीय योगदान रहेको छ । १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको परिवार त्यस समय पूर्वी नेपालमा महामारी फैलिएपछि भारतको कालिम्पोङ डुम्सीपाडामा बसाइँ सरेको थियो । पारिवारिक अवस्था राम्रो नभए पनि गायक बन्ने सपना बोकेर काठमाडौं आएका उनले त्यसपछि भने व्यवसायिक संगितमा रमाउन थालेका थिए ।
उनको पार्थिव शरिरलाई मंगलबार बिहान ९ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने र ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । सोमबार बेलुका ट्वीट गर्दै राष्ट्रपतिले आचार्यको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । दुःखको घडीमा स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत राष्ट्रपतिले व्यक्त गरेका छन् ।