काठमाडौंका भित्तामा अब चित्र कोरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ । सार्वजनिक स्थलमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने महानगरले जनाएको छ । जसका लागि महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता समेत गरेको छ । महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार स्वीकृत भएका डिजाइन र स्थानहरुमा प्रतिष्ठानले भित्ते चित्र कोर्ने छ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने शाक्यले बताए ।भित्तेचित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेश गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ । सम्झौतामा उल्लेख भए अनुसार चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरुसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्यांकन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ ।

यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउने । सम्झौता भएपछि ६० प्रतिशत अर्थात ३० लाख रुपैयाँ र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत, २० लाख रुपैयाँ प्रदान गरिने सम्झौतामा उल्लेख छ । प्रतिष्ठानले कार्ययोजना बनाउँदा सम्झौतामा उल्लेख भएको रकम बमोजिकको बनाउनु पर्ने सम्झौतामा उल्लेख छ ।

विभागकाअनुसार पहिलो चरणमा माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन भित्त, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्त लेखनका लागि स्वीकृत भएका छन् । महानगरपालिकाले पुल मुनिको भित्तामा पनि योजना बनाएको थियो तर आफ्नो मातहत नपर्ने भएकोले त्यहाँ भने स्वीकृत नपाएका जनाएको छ ।